काठमाडौं । सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दै ठूलो स्कोर खडा गरेको छ ।
मुम्बई इन्डियन्सविरुद्ध घरेलु मैदानमा ब्याटिंग गर्दै हैदरावादले २० ओभरमा २ सय ७७ रन बनाएको हो । यसअघि यो कीर्तिमान रोयल च्यालेञ्जर्स बेंगलोरका नाममा थियो । आरसीबीले सन् २०१३ मा पुने वारियर्सविरुद्ध २ सय ६३ रन बनाएको थियो । तर ११ वर्षपछि हैदरावादले रेकर्ड तोड्यो ।
टस हारेर ब्याटिंग गरेको हैदरावादका ब्याटरले मुम्बईका बलरको धुलाई गरे । हैदरावादका लागि हेनरिक क्लासेनले ३४ बलमा नटआउट ८०, ऐडिन मारक्रमले २८ बलमा ४२ नटआउट रन जोडे ।
क्लासेनले ७ छक्का र ४ चौका हाने । यस्तै अभिसेक शर्माले आउट हुनु अघि २३ बलमा ७ छक्का र तीन चौकाको मद्दतले ६३ तथा टे«भिस हेडले २४ बलमा ६२ रन बनाए । उनले नौ चौका र तीन छक्का हाने । जसप्रित बुमराहसहित मुम्बईका सबै बलर महंगा सावित भए । मुम्बईका बलरले १८ छक्का र १९ चौका खाए । लक्ष्य पछ्याउँदै मुम्बईले ब्याटिंग गरिरहेको छ ।