काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाब किङ्ले कीर्तिमानी ऐतिहासिक जित हासिल गरेको छ ।
२६२ रनको विशाल लक्ष्य पुरा गर्दै कोलकाता नाईट राईडर्सलाई आठ विकेटले हराउँदै पञ्जाबले कीर्तिमानी जित निकालेको हो । टी २० मा यो अहिलेसम्मकै ठूलो रन चेज हो । यसअघि दक्षिण अफ्रिकाले वेस्टइण्डिजविरुद्ध २५९ रनको लक्ष्य पछ्याएको थियो ।
इडन गार्डेनमा घरेलु टोली कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पञ्जाबले मात्र २ विकेट गुमाएर १८ ओभर ४ बलमा अर्थात आठ बल बाँकी छँदै सहजै पुरा गर्यो । पञ्जाबलाई जिताउन जोनी बेरिस्ट्वोले शतक तथा प्रभसिमरन सिंह र शशांक सिंहले अर्धतशतकीय योगदान गरे । तीनै जना ब्याटरले आक्रामक खेले ।
बेरिस्ट्वोले ४८ बलमा ९ छक्का र आठ चौकासहित नटआउट १०८ र शशांक सिंहले २८ बलमा आठ छक्का र २ चौकासहित नटआउट ६८ रन जोडे । प्रभसिमरनले आउट हुनुअघि २० बलमा ५ छक्का र ४ चौकासहित ५४ र राइली रुसोले १६ बलमा २६ रन हारे । कोलकाताका लागि एक मात्र विकेट सुनील नरेनले लिए ।
यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको फिल साल्ट र सुनील नारायणको अधर्शतकसँगै कोलकाता नाइट राइडर्सले ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । साल्टले सर्वाधिक ७५ रन बनाए। ३७ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै, नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए।
पहिलो विकेटका लागि उनीहरूले १३८ रनको साझेदारी गरेका थिए। वेंकटेश अय्यर ३९, कप्तान श्रेयस अय्यर २८ र आन्द्रे रसेल २४ रनमा आउट हुँदा रमनदीप सिंह ६ रनमा नटआउट रहे।पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक २ विकेट लिए। सैम करन, हर्ष पटेल र राहुल चाहरको नाममा १–१ विकेट रह्यो। पञ्जाब जितसँगै आठौं स्थानमा उक्लेको छ । हारका बाबजुद कोलकाता दोस्रो स्थानमा छ ।