काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
सोमबार रातिमात्रै काठमाडौं आइपुगेका उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले मङ्गलबार बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्ड भेटवार्ता गरेका हुन् ।
यादव अमेरिका भ्रमणमा रहेका बेला उनको दल जनता समाजवादी पार्टी, नेपाल विभाजित भएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले १२ मध्ये ७ सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेका छन् । जसले निर्वाचन आयोगबाट वैधानिकतासमेत पाइसकेको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले यादवलाई मिलेर जान सुझाव दिएका छन् । यादवले प्रधानमन्त्रीको साथमै रहेको बताएका छन् । तर संसदीय दलको बैठक बोलाएर छलफल थालेका छन् । संसदमा अब यादवसँग ५ सांसद छन् ।