काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य दीपक खड्काले लिजको म्याद सकिए पनि भोगचलन गरिरहेको स्काउटको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोगमा सिल गरेको छ ।
१५ वर्ष देखि स्काउटको जग्गा भाडामा लिएका सांसद खड्काले सम्झौता सकिएपछि पनि लाभ लिइरहेका थिए । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनले अटेरी गरिरहेका थिए । संसदीय समिति समेत गुहारेको स्काउटको जग्गामा प्रशासनले ताला लगाएको हो ।
काठमाडौं महानगरपालिका– २६ लैनचौरस्थित जग्गा एवं सम्पत्तिमा नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री दीपक खड्काले अनधिकृत कब्जा जमाएको भन्दै स्काउटले विरोध जनाएको थियो ।
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्ट खोल्न थप भौतिक संरचना निर्माण गरिएको छ ।
स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ । दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल कवल छन् ।यी दुई भवनमध्ये पहिलो भवन २०६३ र दोस्रो २०६४ सालमा टेन्डर गरेर खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो ।
प्रहरीले कार्यालय र क्याफेमा सिल गरेको छ भने लैनचौर ब्याङ्क्वेटमा विवाहको समारोह चलिरहेकाले बाहिर प्रहरी कुरेर बसिरहेको छ ।