न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले छैठौ विश्व नेवाः दिवस मनाएको छ । शनिबार न्यूयोर्कको ज्याक्सन हाईट्समा गरिएको कार्यक्रममा गुठीले प्रकाशन गरेको पहिलो स्मारिकासमेत विमोचन गरिएको थियो ।
नेवाः संस्कृति, परम्परा र भाषा संरक्ष,प्रवर्द्धन एवं पुस्तान्तरणका लागि नेवाः गुठी न्यूयोर्क सधै क्रियाशिल भएको भन्दै अध्यक्ष विजयमान सिं ले गुठीले प्रकाशन गरेको स्मारिकामा धेरै कुरा समेटिएको बताए ।
न्यूयोर्कमा गठन भएको नेवाः युथ कार्यक्रमका श्रेया तुलाधर र समिया महर्जनले नेवाः संस्कृति, भाषा र परम्परा जोगाउन सुरु गरिएको अभियानबारे जानकारी दिए । १५ वर्षदेखि ३० वर्ष उमेर समुहका नेवाः युवालाई समेटेर बनाईएको यो अभियानमा सहभागिताका लागि नेवाः युवालाई आव्हान समेत गरिएको छ ।
नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्य दुत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्यूयोर्क राज्यका सिनेटर जेसिका रामोस, एसेम्व्ली मेम्बर स्टेभन रागा, न्यूयोर्क सिटीका प्रतिनिधि, गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन र पूर्व अध्यक्ष समिर महर्जन र नेपालका लागि पर्यटन दुत केशवराम राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।