काठमाडौं । गठबन्धन फेरिएको लामो रस्साकस्सीबीच कोशीमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ को ५ बमोजिम नै नयाँ सरकार बनाउन आह्वान गरिएको छ । यसअघि वर्तमान मुख्यमन्त्री केदार कार्की पनि यही धारा अन्तर्गत मुख्यमन्त्री बनेका थिए । बहुमत जुटाउन सक्ने प्रदेश सभाको कुनै पनि सदस्यले दाबी पेश गर्न सक्नेछ र त्यसका लागि प्रदेश प्रमुखले वैशाख २८ गते बेलुकी ५ बजेसम्मको समय दिएका छन् ।
संसदको यो कार्यकालमा योसहित सरकार गठनको छैटौं पटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिइएको थियो । संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
सरकार गठनको आव्हान भएलगत्तै एमाले-माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन् ।
आफूसहित ८ जना सांसद लिएर आएपछि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले काँध थापेका थिए । कार्की सरकार पनि धारा १६८ (५) अन्तर्गन नै गठन भएको हो । यस धारा अनुसार मुख्यमन्त्री दाबी गर्न संसदीय दलको नेता चाहिँदैन । प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन् । कार्कीलाई पछि माओवादी र कांग्रेसले विश्वासको मत दिएको थियो ।
।