काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् ।
शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पालसहित ओलीलाई भेट्न पूर्वमुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँगको भेटमा ओलीले हतार नगर्न निर्देशन दिएका हुन् ।
बझाङबाट निर्वाचित एमाले सांसद दमन भण्डारीको बुवाको निधन भएको १५ दिन पनि नभएको भन्दै त्यो भन्दा पहिले विश्वासको मतको विषयमा हतार गर्न आवश्यक नरहेको ओलीले बताएका थिए ।
बालकोटमा करिब साढे २ घण्टासम्म भएको छलफलमा ओलीले एकीकृत समाजवादीका विषयमा सचेत भएर अघि बढ्नु पर्नेमा जोड दिएका बताइएको छ ।
६ वैशाख एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।बझाङ उपनिर्वाचनपछि एमाले एकीकृत समाजवादीसँग रुष्ट छ ।