बुधबार, जेठ ९ गते २०८१
Logo
बुधबार, जेठ ९ गते २०८१
images
images
Logo
images

मजदुर दिवस मनाउनुको सार्थकता

मजदुर दिवस मनाउनुको सार्थकता

बुधबार, वैशाख १९ २०८१
  • images
    मजदुर दिवस मनाउनुको सार्थकता
    images

    अन्तर्राष्ट्रिय श्रमिक दिवस वा विश्व मजदुर दिवस विश्वभरका मजदुरको हक हितका लागि, मजदुरको योगदानको कदर स्वरुप र श्रमिकको अधिकार र सुरक्षाका सम्बन्धमा जागरण गराउने मनसायले प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन मनाउने प्रचलन छ । संसारमा श्रम गर्ने वा मजदुर गर्ने वर्ग र श्रमिकको श्रम शोषण गर्ने वर्गका विरुद्धको आवाज बुलन्द भएको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस भनेर मनाउन थालिएको इतिहास छ ।
    अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वका ८० भन्दा बढी मुलुकमा सार्वजनिक विदा नै दिएर उच्च सम्मानका साथ मनाइन्छ भने केही देशमा सामान्य तरिकाले पनि मनाउने गरिन्छ । यस दिवसका अवसरमा यसको  इतिहास, सन्दर्भ र नेपालमा श्रमिकको अवस्थाबारे जानकारी गराउने उद्देश्यले यो आलेख तयार गरिएको छ ।
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको सुरुवात के कसरी भएको हो भन्ने प्रसङ्ग कोट्याएर हेर्ने हो भने १९ औं शताब्दीमा जब संसार औद्योगिक युगमा प्रवेश गर्यो, त्यहाँ हुनेखाने उद्योगपतिहरूले मजदुरी गर्ने तल्लो वर्गलाई शोषण गरेर मनग्गे आम्दानी गरी आफू झन् धनी बन्दै जाने तर श्रमिक वर्ग जहाँको तहाँ रहने अवस्था सृजना भयो । यस्तो असमानता लामो समयसम्म सहेर श्रमिकले काम गर्दै गए ।
    उद्योगपतिको अत्याचार झन् पछि झन् बढ्रदै गयो र श्रम शोषण गर्ने प्रक्रियामा कमी भएन । खासगरी युरोपका उद्योगपतिले श्रमिकलाई काममा लगाउने समय दैनिक १५ घण्टासम्म पनि थियो । तर श्रम अनुसारको पारिश्रमिक थिएन । यस्तो कहालीलाग्दो अवस्थाबाट उन्मुक्ति पाउने उपाय श्रमिकले सोच्दै थिए र  एक आपसमा संगठित समेत हुँदै थिए ।
    फलस्वरुप त्यहाँका श्रमिकले मे १ तारिख १८८६ का दिन उक्त शोषणका विरुद्ध समानता, उपयुक्त ज्यालाको व्यवस्था, उचित बिदा, उचित सुविधा र श्रम वातावरण मिलाउनुपर्ने माग राखेर एकिकृत हुँदै आन्दोलनको सुरुवात गरे । मजदुरले आफ्ना मागमा २४ घण्टामा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको सुविधा दिनुपर्ने बुँदा पनि राखेर सशक्त तरिकाले आन्दोलन अघि बढाएका थिए ।
    उनीहरूको आन्दोलनले संसार भरका सबै मजदुरहरू एक ढिक्का हुनपुगे र व्यापक दबाब सृजना गरेपछि उनीहरूको माग सम्बोधन भई विशेष सुविधा पनि प्राप्त गरेको इतिहास छ । यसरी मजदुरहरूको उक्त आन्दोलनको सुरुवात भएको दिनलाई सम्झना गर्दै हरेक वर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस भनेर मनाउने गरिन्छ, जुन मजदुरका लागि विशेष सम्मान पनि हो ।
    हाल अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वको हकमा एक पर्वका रुपमा आफ्नो हक अधिकार सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाइन्छ र नेपालमा समेत विभिन्न मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् । नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरूको विशेष सम्मान गर्दै एक दिन सार्वजनिक बिदा दिने गरिन्छ । यस दिनले मजदुरको योगदान, उनीहरूको सुरक्षा र अधिकारको महत्वलाई स्मरण गराउँछ ।
    जागरण सुरु हुनु अघिको नेपालमा मजदुरहरूको अवस्था
    नेपालको सन्दर्भमा सामन्तवादी युग निकै लामो समयसम्म रह्यो । सामन्तवर्गले अशिक्षित र गरिबीको चपेटामा रहेका श्रमिक वर्गको निकै शोषण गरिरहे । अशिक्षाका कारण नेपालका मजदुर एक ढिक्का हुने, आन्दोलन गर्ने, हक अधिकार खोज्ने कुरामा निकै पछाडि परे । बिहान बेलुकाको हातमुख जोर्न र जहान परिवारलाई पेटभरी खान पुग्ने अवस्था भए मात्रै सन्तोष ठान्ने नेपाली श्रमिक वर्गले कहिल्यै आफ्नो हक अधिकारको आवाज बुलन्द गर्न सकेनन् ।
    यसैको परिणामस्वरुप नेपालमा कमैया, कमलरी र हलिया प्रथा निकै लामो समयसम्म चल्यो र अझैपनि त्यसका केही अवशेषहरू भेटाउन सकिन्छ । मालिकको खेतबारी, कृषि, पशुपालन र घरायसी काम गर्दै कतिपय श्रमिकहरूले ऋण तिर्न नसक्दा भावी कैयौं पुस्तालाई समेत यस्ता प्रथामा बाँच्नु पर्यो । शिक्षा, स्वास्थ्य, उचित पारिश्रमिक र कामको मूल्याङ्कन भन्ने कुरा त कहिल्यै भएन । बरु जमिन्दारको नोकरको रुपमा मात्र होइन कि यौन दासीका रुपमा समेत बस्नुपर्यो । यस्तै अवस्थामा कैयौं पुस्ताहरू बाँच्नुपर्यो ।
    बिस्तारै नेपालमा पनि उद्योगहरू खुल्न थाले । उद्योगमा काम गर्ने श्रमिकहरूको अवस्था समेत त्यस्तै श्रमशोषणमा परिरहेको थियो । अन्तर्राष्ट्रिय श्रमिकका हक अधिकारका कुराको बाछिटा पनि नेपालमा पर्न थाल्यो र सञ्चालनमा रहेका केही उद्योगका कामदारले बिस्तारै आफ्नो श्रमशोषणका विरुद्ध सङ्गठित हुन थाले । यो परम्परा बिस्तारै भुसको आगो जस्तै अन्य उद्योगहरूमा पनि फैलिन थाल्यो र मजदुरको आवाज सशक्त बन्न थाल्यो ।
    उद्योगभित्रै विभिन्न आन्दोलन हुनथाले । विश्वव्यापी मागको रुपमा रहेको उचित पारिश्रमिक, काम, आराम र मनोरञ्जनका सुविधा आफूले समेत पाउनुपर्ने माग राख्दै नेपाली श्रमिकले पनि आन्दोलन गर्न थाले । आन्दोलन दबाउनका लागि उद्योगपति र राज्यले समेत बल प्रयोग गर्न थाल्यो र कैयौं मजदुरको रोजीरोटी खोसियो भने कतिपय मजदुरले आन्दोलनमै सहादत प्राप्त गर्न पुगे ।
    मजदुरको आन्दोलन बिस्तारै राजनीतिक आन्दोलन बन्न थाल्यो र राज्यका विरुद्ध नै आन्दोलन हुन थाल्यो । फलस्वरुप व्यवस्था परिवर्तनसम्म हुन पुग्यो र धेरै मजदुर नेता कार्यकर्ताहरू राजनीतिक आन्दोलनका पनि नेता हुन पुगे र नेपालमा पञ्चायती व्यवस्था नै ढल्न पुग्यो ।
    आन्दोलन उद्योगमा मात्र सीमित रहेन कि यसको बाछिटा अन्य क्षेत्रहरूमा पनि पर्न थाल्यो र बिस्तारै घरेलु श्रमिक, कमैया, कम्लरी र हलिया प्रथा समेत नेपालबाट हट्न पुग्यो । वर्षौं देखि रहेका यस्ता असमान व्यवस्था हटेर मात्र समस्या समाधान भएन, देशमा सुकुम्बासीको समस्या अर्को टड्कारो रुपमा देखिन थाल्यो । सुकुम्बासीलाई व्यवस्थित गर्ने, उद्वार गरिएका घरेलु श्रमिकको व्यवस्थापन गर्ने कुरा हालसम्म पनि चित्तबुझ्दो तरिकाले हुन सकेको छैन ।
    वर्तमान नेपालमा मजदुरको अवस्था
    हाल आएर मजदुरहरूको कुरा गर्दा नेपालमा विदेसिने युवाको अवस्थातर्फ ध्यान दिनुपर्ने देखिन्छ । अहिलेको अवस्थामा श्रम गर्न विदेश जाने जनशक्तिको अवस्था नाजुक रहेको पाइन्छ । गत आर्थिक वर्षको तथ्याङ्क अनुसार एकवर्षमै वैदेशिक रोजगारीमा जाने व्यक्तिको सङ्ख्या करिब ३१ लाख रहेको छ । यो आधिकारिक तथ्याङ्क बाहेक अवैधानिक तरिकाले समेत वैदेशिक रोजगारीमा जाने श्रमिकको गणना भएको छैन र गणना गर्न नसकिने अवस्था छ ।
    नेपालका श्रमिकहरू वैदेशिक रोजगारीमा जाँदा आफ्नो योग्यता र इच्छा अनुसार रोजगारदातासँग सिधा सम्पर्क गरेर, म्यानपावर कम्पनीको सहजीकरणबाट र सरकारको सहजीकरण अनुसार जाने गरेको पाइन्छ । यसरी बल्लतल्ल विदेश गएका श्रमिकहरू पनि त्यहाँको सम्झौता अनुसार नभइ मालिकको इच्छा अनुसार श्रमशोषणमा पर्ने गरेका उदाहरण छन् ।
    त्यस्तै, कतिपय नेपाली श्रमिकले उचित पारिश्रमिक नपाएको, योग्यता अनुसार र सम्झौता अनुसारको काम नपाएको, डकैतिमा पर्ने गरेको, समयमा पाउनुपर्ने पारिश्रमिक नपाएको, घरेलु कामदारको रुपमा रहेका कामदारमाथि शारीरिक, यौनिक र मानसिक यातना दिने गरिएको जस्ता गुनासाहरू सुन्ने गरिन्छ । कतिपय श्रमिकहरूले त कामकै क्रममा शारीरिक क्षति भोग्ने र मृत्युसम्म हुने गरेका उदाहरण प्रसस्तै छन् ।
    यसरी विश्लेषण गरी हेर्ने हो भने २१ औं शताब्दीका श्रमिकले पनि उचित मूल्य नपाउनु र अपहेलित हुनु परिरहेको दृष्टान्त देखिन्छ । यस्तो अवस्थामा श्रमिकको पीडाको सम्बोधन नगरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउनुको सार्थकता के ?
    यसरी नेपालबाट विदेश जाने कामदारहरू आर्थिक रुपमा सक्रिय कामदारहरू हुने गर्छन् जुन १८ देखि ४४ वर्षसम्मका युवावर्गभित्र पर्ने गर्दछन् । ती मध्ये सबैभन्दा बढी २५ देखि ३४ वर्षसम्म उमेर समूहका युवाहरू पर्दछन् जुन निकै सक्रिय उत्पादनशील जनशक्ति हो र यस्ता जनशक्तिले देश विकासको काममा नलागेर विदेशीहरूको सेवा गरिरहनुपर्ने बिडम्बना नेपालमा देखिएको छ ।
    यस्ता युवावर्गको श्रमको सदुपयोग देशले गर्न नसक्नु, विदेश धकेल्नुपर्ने अवस्था आउनु र अधिकांश युवा उतै पलायन हुनु, मृत्युवरण गर्नु नेपाली श्रमिकका अहिलेका बाध्यता छन् । पछिल्लो १० वर्षमा विदेश गएका नेपाली कामदारमध्ये १० हजार भन्दा बढीको मृत्यु भएको कुरा वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाउँछ ।

    images
    images

    यसबाट के बुझिन्छ भने देशभित्र पर्याप्त रोजगारीको अवसर नहुनु, राजनीतिले सही नीति लिन नसक्नु, सत्ताको लडाइँमा मात्र समय गुजार्नु, भएका उद्योगहरू पनि बन्द गर्नु, नयाँ उद्योगधन्दा खोल्ने कुनै योजना र सोच नहुनु, परम्परागत कृषि प्रणालीमा कुनै सुधार नहुनु, देशभित्र रहेका प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने सोच नहुनु, देशमा भ्रष्टाचारले सीमा नाघ्नु र अर्थतन्त्र तहसनहस हुनु, राज्य सञ्चालन गर्ने दलका नेताहरू गैर जिम्मेवार हुनु र युवालाई विदेश जान प्रोत्साहन गर्नु नै मुख्य कारण हुन् ।
    यस्तो अवस्थामा वैदेशिक रोजगारमा जानु र उतै पलायन हुनुलाई नौलो मान्न सकिँदैन । हाल साउदी अरब, कतार, युएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया, क्रोएसिया, पोल्याण्ड्, रोमानिया जस्ता देशहरू वैदेशिक रोजगारका लागि गन्तव्य बन्ने गरेका छन् र ती देशमा श्रमिकहरूको उचित व्यवस्थापन भए नभएको अनुगमन गर्ने र सुनुवाई गर्ने कुनै प्रभावकारी संयन्त्र समेत बन्न नसक्नु र काम नहुनुमा धेरैको गुनासो समेत रहने गरेको छ ।
    अन्तमा,
    अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ र यो दिनमा श्रमिकहरूका यावत् समस्या सुन्ने गरिन्छ । तर वर्षमा एक दिन मात्र श्रमिकहरूका समस्या सुन्ने र बाँकी अरु ३६४ दिन श्रमिकको श्रमको शोषण गरी कसरी अर्थोपार्जन गर्न सकिन्छ भन्ने कुरामा नै रोजगारदाताको ध्यान जाने गरेको देखिन्छ ।
    यसबाट श्रमिक वर्गको श्रमको उचित मूल्याङ्कन होला त ? के कामदारको काम गर्ने वातावरण नभए उत्पादनमा वृद्धि होला त ? के कामदारलाई यातना दिएर लगाइएको काम सन्तोषजनक तरिकाले सम्पन्न होला त ? के कामदारको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक क्षेत्र विकासमा ध्यान नदिइ उत्पादकत्व बढाएर आर्थिक उन्नति गर्न सकिएला त ? एकपटक यो विषयमा गम्भीर समीक्षा गरी यस्ता दिवसका अवसरमा सन्देश दिने कि ? अस्तु
    -लेखक  मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका प्राध्यापक तथा सामाजिक अभियन्ता हुन् । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार