सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुने प्रधानमन्त्रीको दाबी

यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुने प्रधानमन्त्रीको दाबी

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुने प्रधानमन्त्रीको दाबी
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले  नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ बंगलादेशमा विजुली निर्यात गर्ने बताए । गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको पनि उनले दाबी गरे । 


    images
    images

    ‘उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदैछ । यसले नेपालको जलविद्युतको बजार विस्तार हुनेछ ।’

    उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युतको बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए ।प्रधानमन्त्री प्रचण्डले विद्युत् प्रणालीमा देखिएको मौसमी असन्तुलन हटाउन ठूला जलाशययुक्त आयोजना निर्माण गरिने पनि बताए ।

    ‘१२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एकहजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना, ६७० मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढाइसकेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै देशलाई दीर्घकालीन रूपमा कायापलट गराउन सक्ने राष्ट्रिय तथा क्षेत्रीय महत्त्वका कर्णाली चिसापानी १० हजार ८०० मेगावाटको आयोजनालाई प्राधिकरणमार्फत अध्ययन कार्य अगाडि बढाइएको छ ।’

    विश्व बैंकको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र एसियाली विकास बैंकको नेतृत्वमा ६७० मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुने चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

    मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मर्स्याङ्‍दी नदी कोरिडोरमा निर्माण भएका र आगामी दिनमा सो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन यो आयोजना निर्माण गरिएको हो ।

    यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने  काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार