दीपेन्द्र कुँवर -
काठमाडौं । कीर्तिपुरमा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालको शुरुवात राम्रो हुन सकेन् ।
ओपनर अनिल साह व्यक्तिगत ५ रन जोडेर आउट भए, जति बेला नेपालले २ ओभर एक बलमा जम्मा १२ रन जोडेको थियो । तर कप्तान रोहित पौडेलको शानदार शतकीय ११२ कप्तानी प्रदर्शनमा नेपालले रोमाञ्चक जित हासिल गर्यो ।
ओपनर अनिल साह आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा पुगेका कप्तान पौडेल शुरुदेखि नै आत्मविश्वासी देखिए । उनले आफूले सामना गरेको पहिलोमै चौका प्रहार गरे र खाता खोले । पहिलो बलमै चौका हानेका रोहितले दोस्रो बललाई पनि प्वाइन्टको दिशामा बाउन्ड्री बाहिर पठाए ।
रोहित र भुर्तेलको जोडी जम्दै गरेको देखिएको थियो, तर ३८ रनमा नेपालले दोस्रो विकेट गुमायो । कुशल भुर्तेल १२ बलमा १६ रन बनाएर आउट भए । रोहितले भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि १६ बलमा २६ रन जोडे । त्यसपछि आएका बायाँ हाते ब्याटर कुशल मल्लसँग मिलेर रोहितले तेस्रो विकेटका लागि ४४ रन जोडे । कुशल १५ बलमा १६ रन बनाएर आउट भए ।
रोहित एउटा किनारमा टिकीरहँदा अर्को किनारबाट अरु ब्याटरले खासै साथ दिन सकेनन् । कुशल तेस्रो विकेटका रुपमा आउट हुँदा नेपालले १० ओभरमा ८२ रन बनाएको थियो । रन रेट उकालो लाग्दै थियो र यसले सेट ब्याटर कप्तान रोहितमाथि दबाब बढ्दै गयो । दबाब बढे पनि रोहित विचलित भएनन् । रोहितलाई साथ दिन दीपेन्द्र सिंह ऐरी क्रिजमा आए ।
११ औं ओभरको दोस्रो र तेस्रो बलमा ओशान थोमसलाई छक्का र चौका हान्दै रोहितले २७ बलमा अर्धशतक पूरा गरे । २७ बलको सामना गरेर अर्धशतक बनाउँदा उनले ६ चौका र २ छक्का हाने । रोहितले अर्धशतक पुरा गर्दा नेपाल १५ ओभरमा १३६–३ को अवस्थामा थियो र जित्नलाई बाँकी ३० बलमा ६९ रन चाहिएको थियो । रोहितलाई साथ दिन अर्को किनारमा थिए, दीपेन्द्रसिंह ऐरी ।
रोहितले १६ औं ओभरको पहिलो बलमा किमो पललाई छक्का र दोस्रो बलमा चौका हाने । तर तेस्रो बलमा दीपेन्द्र १८ बलमा २४ रन जोडेर आउट । रोहितले दीपेन्द्रसँग मिलेर चौथो विकेटका लागि ६४ रन जोडे । भरपर्दा दीपेन्द्र आउट भएपछि रोहित रोकिएनन, उनले आक्रामक खेलिरहे ।
१६ ओभरको पाँचौ बलमा २ र अन्तिम बलमा रोहितले चार रन हाने । १७ औ ओभरमा म्याथ्यु फर्डलाई उनले २ छक्का हान्दै ४५ बलमा ९५ रनको स्थितिमा पुगे ।१८ औं ओभरको दोस्रो बलमा ओबेद म्याककोयको बलमा दुई रन बटुल्दै रोहितले ४७ बलमा शतक पूरा गरे ।
पहिलो ५० रन जोड्न २७ बल खेलेका रोहितले दोस्रो ५० रन मात्रै २० रनमा बटुले । शतक बनाउने बेलासम्म उनले १० चौका र ५ छक्का हाने । त्यतिबेला नेपाललाई जितका लागि १६ बलमा २७ रन चाहिएको थियो । तर उनले शतक बनाउँदा पनि सेलिब्रेसन गरेनन् । यो रोहितको टी–२० करिअरकै पहिलो शतक हो । खेल जिताएपछि मात्रै सेलिब्रेसन गर्नुपर्ने उनको मान्यता छ ।रोहितले २०२२ मा ओडीआईमा पपुवा न्युगिनीविरुद्ध शतक हान्दा पनि शतकको सेलिब्रेसन गरेका थिएनन् ।
१९ औं ओभरको पाँचौं बलमा रोहित ५४ बलमा ११२ रन बनाएर आउट हुँदा नेपाललाई खेल जित्न ७ बलमा १३ रन चाहिएको थियो ।
१९ औं ओभरको अन्तिम बलमा प्रतिश जिसीले चौका हाने । अब अन्तिम ६ बलमा ९ रन चाहिएको थियो । तेस्रो र चौथो बलमा गुल्सन झाले चौका हान्दै नेपाललाई रोमाञ्चक जित दिलाए । ब्याटिङमा मात्रै होइन नेपालका लागि बलिङ र फिल्डिङमा समेत रोहितले उत्कृष्ट भूमिका निभाए । २६ बलमा ४७ रन बनाएका अलिक अथान्जलाई रोहितले नै ललित राजवंशीबाट क्याचआउट गराउँदै पेवेलियन फर्काए । त्यस्तै, ५ बलमा १३ रन बनाएका आन्द्रे फ्लेचरलाई रोहित र अनिल साह मिलेर रनआउट गरे ।
एक हप्ताअघि मात्रै एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग हारेर एसिया कप गुमाएको नेपाललाई यस जितले ठूलो राहत दिएको छ र यसले नेपाली टिमको आत्मबल बढाएको छ । ‘ओमानमा हार्दा हामी निराश थियौं, नराम्रो लागेको थियो । तर त्यसलाई बिर्सेरै अगाडि बढ्नुपर्छ ।’ रोहितले कप्तानी प्रदर्शनपछि भने ।