काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको हो ।
यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।
नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ ।
तर नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा भने आजै हस्ताक्षर हुने छैन । अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने सम्झौता नहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी राजा आजै दिउँसो स्वदेश फर्किनेछन् ।