काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा देखाएको लचिलोपनको प्रभाव शेयर बजारमा देखिएको छ । आइतबार सेयर बजारमा ह्वात्तै बढेर तीन पटक सर्किट ब्रके लागेपछि आइतवारको कारोबार बन्द गरिएको छ । सेयर बजार परिसूचक आइतबार ९ मिनेटमै १११.२० अंकले बढेको छ। कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।
पुनः १२ः ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।