काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक दर र नीतिगत दरहरु घटाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको हो । जस अनुसार बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ।
नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले ब्याज दर घटाउन पहल गरेको हो।
अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले जनाएको छ ।