काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
गत आर्थिक वर्ष २०७९-८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
संस्थागततर्फ बढी आय नेपाल टेलिकमले तिरेको छ । वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको भन्दै सरकारले सम्मान गरेको छ ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई मन्त्री महतले सम्मान गरे । व्यक्तिगत आयबाट धेरै कर तिर्ने उद्यमीमा विजयबहादुर शाह छन् । उनी हिमालय डिस्टिलरी लिमिटेडका अध्यक्ष हुन् ।
त्यसैगरी वित्तीय संस्थाका तर्फबाट ग्लोबल आईएमई, रेमिट्यान्स कम्पनी आईएमईले सर्वाधिक कर तिरेको छ । ग्लोबल बैंकका अध्यक्षसमेत रहेका चन्द्र ढकाललाई सरकारले सम्मान गरेको छ ।
उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन् । सबैभन्दा बढी निर्यात गरेकोमा डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्टस्, कृषिबाट ओबिस फुड्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त संस्था, विमा व्यवसायमा लाईफ इन्स्यारेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायमा मनकामना दर्शनले सर्वाधिक कर तिरेको छ ।
मध्यम स्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोसी पावर कम्पनीलाई सम्मान गरेको छ । निरन्तर पाँच वर्षदेखि सर्वाधिक कर तिर्ने र यस वर्ष पनि अन्तःशुल्क, मूल्य अभिवृद्धि र आय कर तिर्ने सूचीमा गरेर दुई विधामा सूर्य नेपाललाई सम्मान गरिएको छ ।