काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ ।मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार लाख रुपैयाँ छ ।
अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।
‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिन्छ । २०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।
२०७९ सालको मदन पुरस्कारका लागि ३१३ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ।