काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री पुरस्कार र सम्मान घोषणा गरेको छ ।
पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।अन्तिम पाँच पुस्तकको सूचीमा मनुसहित इजोरिया, ऐंठन, शून्यको मूल्य र मफलर थिए । पद्मश्री साहित्य पुरस्कार पाएको ‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।
यस्तै प्रद्मश्री साधना सम्मान कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिने भएको छ । साथै, गत वर्षदेखि मात्रै सुरु गरिएको पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिनेछ ।
शिक्षा क्षेत्रमा शर्माले गरेको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।तीनवटै पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण गरिनेछ । सबै पुरस्कारको राशि तीन लाख रुपैयाँ छ ।