आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

बीपी र नेपाली कांग्रेस

बीपी र नेपाली कांग्रेस

साझा पोष्ट
शनिबार, साउन ६ २०८०
  • images
    बीपी र नेपाली कांग्रेस
    images

    आफ्ना केही साथीहरूका साथ परशु नारायण चौधरी ४/५ दिन अघि मात्र पंचायत पस्नु भएको थियो । उहांले आफ्नो वक्तव्यको शिर्षक "अबको नयाँ बाटो" वा यस्तै केही राख्नु भएको थियो । यसका हस्ताक्षरकर्तामा यस अघि पंचायत पसेका केही मानिसहरू पनि थिए। यसमा बडो नाम चलेका तथा नेपाली काँग्रेसमा ऐतिहासिक भुमिका राख्नु भएका बखानसिंह गुरूंग आदि हुनुहुन्थ्यो। 
    परशु नारायण चौधरीको पंचायत तिर पलायनको बडो ठूलो चर्चा थियो। आजको जस्तो सामाजिक संजाल र मिडियाको बिशाल संख्या त थिएन। तर, सरकारी संचार माध्यमहरूले लामो समयसम्म यस समाचारलाई प्रमुखता दिई राखे। पिपलबोटको सर्वाधिक चर्चाको बिषय नै यही थियो। हामी सबै चकमन्न थियौं, ठुला र नाम चलेका युवा नेताहरू बिपिन कोईराला, मार्शल जुलुम शाक्य, शिब बहादुर खडकाहरूको पंचायत पस्ने चर्चा पनि थियो। पंचहरूले यस्तो प्रवेशलाई हौस्याई रहेका थिए। 
    जनमत संग्रह ताकाको प्रचारका क्रममा काठमांडूको टुडिखेलको आम सभामा बी.पी. कोईरालाले  मुलुकमा बहुदल आए परशु नारायण नेपालको प्रधानमंत्री हुने भन्नु भएको थियो। तेस सभाको मंचमा गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई पनि रहनु भएको थियो। अप्रत्याशित रूपमा बीपीको यो भनाई सुनेर कालो चश्मा लाउनु भएका गणेशमान जी मुसुक्क हाँसेको र किसुन जी मंचको सिमेन्टे भूईमा छाताको डण्डी थिचेको मैले प्रष्ट देखेको थिए। यो बिषय उहाँहरूका बीचमा सुबिचारित थियो वा थिएन मलाई पछिसम्म जानकारी भएन। यद्यपि बीपीको ठूलो बिश्वास परशु नारायणका लागि मुखरित भएको थियो। बीपीको बिश्वासमा रहेका यस्तो मानिस सुटुक्क पंचायत पसेको अवस्था थियो। यसर्थ बीपीको रोजाईका वारेमा पनि प्रश्न उठेको थियो। मार्शल जुलुम शाक्यका बारेमा गणेशमान जीले भन्नु भएको थियो-“उनि १७ बर्ष जेल बसे। पंचायतमा प्रवेश गरे सबै योगदान १७ मिनेट मै समाप्त हुनेछ।” मार्शल झस्कनु भएको खबर थियो।
    परशु जीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन । "नेपाली जनताले जुन कारणले परशु नारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन ।" यति थियो बीपीको प्रतिकृया । बिबिसीका केदार मान सिंहलाई बीपीले यति मात्र भन्नु भयो। एमालेबाट बामदेव निस्किदां “पिलो निचोरियो” भनेर उ बेला केपी ओलीले भनेको, आज पनि केपीले माधव नेपालहरूलाई आलोचना गरेझै, उपेन्द्रले बाबुराम भट्टराईका बारेमा बैगुनी कुरा गरेको या शेर बहादुर देउवा जी ले शेखर कोईराला तथा गगन थापाहरूको वजूदलाई इन्कार गरी शेखी झार्न तम्सेको भाषा प्रयोग गर्ने त्यो जमाना थिएन । काँग्रेस भित्र भ्रमको जालो फैलाउन र बीपीलाई चालबाज देखाउन रमेशनाथ पाण्डेले त भित्र भित्र पंचायतसंग कुरा मिलाएर बीपीले परशुलाई पठाएका हुन कि? यस्तो आशंका गर्दै लेखेका थिए। जुन पटक्कै सत्य थिएन। तर, गंभीर चर्चा के थियो भने बीपीको चयन प्रायसः गलत हुने गरेको छ। बीपीले सारै पत्यार गरेका मानिसहरू बीपीलाई नै फाप्दैन।
    डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वर प्र. सिंह, बखान सिंह गुरूंग, सूर्य प्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतु लाल चौधरी लगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी-यस्ता मानिसहरूको सूचि लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए । प्रदीप गिरी कहिले पंचायत पस्नु भएन, तर बिस ०३०/३१ पछिको अवधिमा बीपीका सोचहरूको कटु आलोचना पनि गर्नु हुन्थ्यो र तेही शैलीमा अत्यन्त ठुलो प्रशंसा पनि। जबकी हवाई अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुरन्धरै धुन्धकारी देखिएका थिए। यस्ता अनेकन प्रेम र धोकाको अध्यायमा मानिसहरूका बीच कुराकानी हुन्थ्यो कि, सहकर्मीको रोजाईमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो । 
    बीपी सन् 1977 नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुदां परशु नारायण र गिरिजा बाबु दुबै जनालाई पटना-काठमांडूको हवाई जहाजमै उहांले प्रतिबन्धित नेपाली कांग्रेसको महामंत्री बनाउनु भएको थियो । राष्ट्रिय मेल मिलापको नीतिका साथ लामो भारत प्रवासपछि बि.स. २०३३ मा बीपी र उहाँका साथ गणेशमान सिंह, निलाम्बर पंथी, शैलजा आचार्य, खुम बहादुर खडकाहरू काठमांडू हवाई अड्डाबाटै गिरफ्तार गरिनु भएको थियो। केही समयपछि बीपीको स्वास्थ्य निकै बिग्रिएपछि राजा बीरेन्द्रले उपचारका लागि अमेरिका जान पेरोलमा रिहा गर्ने सदाशयता देखाउनु भएको थियो। उपचार पश्चात बीपी पटना हुदै नेपाल फर्किनु भयो र पुनः थुनामा राखिनु भयो। यस अघि पटनामा नेपाली काँग्रेसको सम्मेलन भएको थियो, जहाँ बीपीले किसुन जीलाई पार्टीको कार्यवाहक सभापति बनाउनु भयो। यो मेरो सौभाग्य थियो कि म एकदमै कम उमेरमा सप्तरीबाट तेस सम्मेलनमा सहभागी भएको थिए। अ, यही बेला बीपीले शानेवानिको बिमानमै बसी परशु जी र गिरिजा बाबु महामंत्री नियुक्त गरिएको एक सानो बिज्ञप्ति कुनै सहयात्रीलाई दिनु भयो, जो पछि सबैले थाहा पाए। यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो । यसरी एकै पटक दुई जना महामंत्री भएको शायद गिरिजा बाबुलाई तेतीसारो मन परेको थिएन क्यार ! 
    त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो । परशु जीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनु भएको  थियो ।  बीपीले बिशेष नेताहरूलाई भोजनमा बोलाउनु भएको थियो। खानाको अन्त्यमा बीपीले रूचि पूर्वक खीर खादै गर्दा चक्र जी, चक्र बास्तोलाले कुरा उठाई हाल्नु भो । यो कुरा फेरी गिरिजा बाबुको पनि रूचिको कुरा भएको   थियो । तेसैले बीपीले यसको जवाफ नपन्छाउनु होस भनेर गिरिजा बाबुले चक्र जी तिर उन्मुख हुदै जिज्ञासा गर्नु भो; के भन्नु भो अरे चक्र जी ? बीपी, गिरिजा बाबु, सुशील दा, शेख इद्रीस, भीम बहादुर तामांग, बीरेन्द्र दाहाल, लक्ष्मण बस्नेत, बिरू लामा र म पनि; हामी सबै चक्र जीका प्रति उन्मुख भयौ। चक्र जी बीपीसंग सदैव निर्भिक रहनु।  हुन्थ्यो । गिरिजा बाबु सदैब थिचिएको ! चक्र जीले भन्नु भयो; हैन सान्दाजु, परशु नारायणलाई त तपाईले निकै पत्याउनु भएको थियो । उनले धोका दिए । तपाईलाई शंका थिएन ? के पहिले देखिनै उनि प्रति तपाईको विश्वास अडीग थियो र ? 
    बीपीले चक्र जीलाई भन्दापनि गिरिजा बाबु तर्फ उन्मुख भई सोध्नु भयो-गिरिजा कुनै पनि सहयोगीसंग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? गिरिजा बाबुले संकोचका साथ भन्नु भयो-म त लामो समयसम्म मानिसको परख गर्छु । शुरूमा त शंका गरिरहन्छु । परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु । बीपीले सोध्नु भयो-ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसंग रहेनन् ? 
    बीपीले थप्नु भयो: सोच्दै गर्नु । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहां हुन्छ र ? यो सर्वकालिक हुदैन । मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ । तत्कालिक परिस्थितिलाई भने उस्को बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र नि:स्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन । सबैले विस्तारै दुधको खीर सकेका थिए । मन मिठो भएको थियो । तर, यस सम्वादले भने सबैलाई, खासगरी बीपी वाहेक हामी सबैलाई उद्वेलित पारेको थियो । 
    म तेस बेला चावहिलको बीपी निवास मै बस्थे। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन । तर, बीपीले जे जवाफ दिनु भयो; मेरो लागि आज पनि प्रश्न रहित नै छ ! हो त, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन । को कहाँ रहन्छ, कोही कहाँ पुग्छ । तर, ज्ञान र इमानदारिता भने सर्वकालिक नै हुन्छ । आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ। हुनत् नेपाल मात्र हैन-सबै तिर यही अवस्था छ। बडेमानका बिश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ। कसले यस प्रश्नको अकाट्य जवाफ दिएका छन् कि नेताका कुनै पनि सहयोगीसंग तेस नेताको सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ?
    बीपीको आदर्श त मेरो मनमा छ। तर, मैले पनि मलाई पहिचान दिएको नेपाली काँग्रेसलाई छोडे, अझ गिरिजा बाबुलाई छोडे। म स्वयं संग पनि यसको जवाफ छैन कि “ म बिश्वास योग्य थिए कि नेताले मलाई पत्याएको बखत उनि धोकामा परे, म आशंका योग्य थिए।” जे होस्, यो मेरो इमान्दार स्वीकारोक्ति हो कि “साथ रहुन्जेल,पुरै ईमान्दार थिए,भरोसा योग्य थिए।”
    आज बीपीलाई संझिदैछु। थोरै भेटे तर भरपुर संझना छ। आज साउन ६ गते हो। केही थोरै काल उहांको वरिपरिमा बित्यो । त्यसमा गर्व पनि अनुभव गर्दछु । 
    अब थोरै नेपाली काँग्रेसका बारेमा…..
    सधैं छलफल तथा बिमर्शमा हुर्केको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक एक बर्षको अन्तरालमा बसेको छ। एक समय म पनि केन्द्रीय सदस्य थिए, प्रचार बिभागको प्रमुख पनि। मुखपत्र ‘नेपाल पुकार’ को सम्पादनमा पनि सहभागी थिए। अहिले काँग्रेसको के.स. को बैठक प्रविधिको बिकाससंगै ‘भर्च्युल’ माध्यमबाट सार्वजनिक छ। अनलाईन छ। यसो गरिंदा सदस्यहरूमी छलफलको गंभीरता बढने हुन् कि सडक लोकप्रियताको ‘धतुरो’ चढने हुन थाहा छैन। तर, सामाजिक संजाल आदिमा त धेरैले राम्रो नै मानेको देखिन्छ।
    केही अघि एमालेका अध्यक्ष केपी ओलीले अहिलेको नेपाली काँग्रेसलाई झाडीमा फसेको बारहसिंघे भन्नु भएको थियो । मैले नि त्यहाँ ३५ बर्ष बढी समय बिताए । आज टाढाबाट नियाल्दै छु । बेला बेलामा सोच्दछु के भएको होला काँग्रेसलाई ? ओली महोदयको बारहसिंघे उपमा बडो चित्त बुझ्यो । यो उपमा दिंदा ओली जीको आफ्नो कुनै प्रयोजन होला, मलाई त "झाडीमा फसेको बारहसिंघे" यो पदावली मात्र मन पर्यो । 
    सात दशक देखि समुद्री आंधीमा फसेको जहाज जस्तो यो काँग्रेसलाई हेर्दा धेरैलाई, धेरै पटक डुब्यो डुब्यो लाग्या   होला । तर, यौटा अजस्र शक्तिले यसलाई पार लगाउदै ल्याएको छ । के त्यो शक्ति आज जाग्रत छ र ? म सोच्दै निदाउथे, ब्यूझिन्थे । अर्ध चेतनामा मैले खेलेको काँग्रेसका खेतबारी, कान्लाहरूमा हिडेडुलेका बेलाका केही पुराना नयाँ सम्झनाहरूको तरेली बिहान टिप्दै गए । 
    संसदको निर्वाचनमा पराजित भएकालाई उच्च राजनीतिक तहमा नियुक्ति नगर्ने गणेश मान सिंह जी संगको सहमति विपरित गिरिजा प्रसाद कोईरालाले राम शरण महतलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नु भयो । यसपछि गणेश मान जी को चाहना अनुसार दुर्गेश मान सिंहलाई भारतको राजदूतमा नियुक्ति गरिएन । यसको दु:खद परिणाम अतुलनीय बिनाशकारी रह्यो । सरकारको नीति तथा कार्यक्रम उपरको मतदानमा आफ्नै पार्टीका ३६ जना सांसद अनुपस्थित भएर गिरिजा प्रसाद कोईरालाको सरकारलाई नैतिक संकटमा पारियो । पार्टी भित्र सल्लाह नगरी प्र.म. कोईरालाले चार जना नेतालाई मंत्री पदबाट हटाएको प्रतिशोध थियो त्यो । फलत: तत्कालिन संसद बिघटनको सिफारिश भयो । भनिन्छ, यो काँग्रेसको अवनीतिको ओरालो थियो । आज धेरैले संसद बिघटनमा गिरिजा प्रसाद कोईरालालाई दोष दिन्छन्। तर, यसको चर्चा हुन्न् कि आफ्नै सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई ३६ जना सांसदहरू अनुपस्थित रहेक किन असफल पारे ? यसर्थ, संसदीय अभ्यासमा यसको परिणामलाई किन अवनीतिको स्वभाविक बाटो न मान्ने ?
    कृषि मंत्री शैलजा आचार्यले संसदमा मंत्रालय भित्र भ्रष्टाचारको जालो छ, पंछाउनै गार्हो भयो भन्नु भएको थियो । संसदमा एमालेले रडाको मच्चाए । झलनाथ खनाल कृष्ण प्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारको कृषि मंत्री थिए। बहुदलीय व्यवस्था पुनर्स्थापन पछि मल आयातमा पहिलो भ्रष्टाचारको कुरा तेही बेला उठ्यो। यसको केही पछि सिपी मैनाली आपुर्ति मंत्री भएको बेला भारत सरकारले कोटामा चिनीको आयातका लागि दिएको अनुमति शंकरलाल केडियालाई दिईयो। भ्रष्टाचारको यो दोस्रो ठुलो बिषय थियो। शायद सिपीले राजिनामा नै दिनु पर्यो। संयोगले राजाको शासन पछि आएको बहुदलमा जन्मेको पहिलो र दोस्रो दुबै भ्रष्टाचारको बिषय एमाले पार्टीसंगै सम्बन्धित थियो। यस पछि संसदमा शैलजाले बोल्नु भयो। एउटै सरकारका सहयात्री र उही सरकारको गृहमंत्री रहेका शेर बहादुर, चिरंजिवी वाग्लेहरू शैलजाका बिरूद्ध एमालेलाई हौस्याए । अपमानित पारिएर शैलजा  मंत्री पदबाट राजिनामा दिनु पर्यो । काँडा झिकियो भनेर काँग्रेसमा एक थरीको हर्ष बढाई भयो । काँग्रेस चुकेको थाहै भएन । प्रम कोईरालाको सिफारिशमा संसद बिधटन गरिएपछि काँग्रेसमा देखापर्ने गरी चिरा पर्यो। नेपाली कांग्रेसका बरिष्ठ नेता महेन्द्र नारायण निधी समेतले गिरिजा कोईरालालाई प्र.म.बाट बर्खास्त गर्न राजदरबारमा बिन्ती चढाउनु भो । राजालाई संविधानमा व्यवस्था नै नभएको हस्तक्षेपका लागि अपील गरियो । यसपछि संसदीय इतिहासका पहिलो सभामुख देवतुल्य कृष्ण प्रसाद भट्टराईको संसदीय पद्धति प्रतिको निष्ठा र संवैधानिक राजतन्त्रको समझमा प्रश्न खडा भयो । 
    राजा बीरेन्द्रले सरकारको सहमति बिना नै तत्कालिन राष्ट्रिय सभामा १० जनालाई मनोनित गरेका थिए । नेपाली कांग्रेसले यसको विरोध गरेको थियो । गणेश मान जी,कृष्ण प्रसाद भट्टराई र गिरिजा बाबु सबैले राजाको यस कदमलाई संवैधानिक राजतन्त्रको पद्धतिको विपरित काम भन्नु भएको थियो । अब गिरिजा प्रसाद कोईरालालाई संविधानमा कही व्यवस्था नै नभएको पदमुक्त गरिनु पर्ने उक्त अपीलबाट नेपाली काँग्रेसकै संवैधानिक राजतन्त्रको समझमा गंभीर फरक पर्यो; राजाले खेल्ने मौका पाएँ । संसदीय दलमा शेर बहादुर जी को नाममा बहुमत नहुदां हुदै गिरिजा प्रसाद कोईरालाले शेर बहादुर देउवालाई संसदीय दलको नेता बनाउनु भयो । उ बखत प्र.म. पदको स्वभाविक हकदार रहनु भएकी शैलजा आचार्य वा संख्यात्मक बहुमतमा रहेका खुम बहादुर खडका गिरिजा बाबुसंगको प्रेमको पासोमा रहेरै पंछ्याईए । शेर बहादुर जी प्र.म. हुनु भयो । कालान्तरमा उनै शेर बहादुरसंगको प्रतिस्पर्धामा गिरिजा बाबु संसदीय दलको नेता पद परित्याग गर्नु पर्यो । सुशील कोईरालालाई संसदीय दलको नेतामा समर्थन गर्नु भयो र अपरिजेय कोईराला स्वंय पराजित हुनु भयो । राजा ज्ञानेन्द्रद्वारा पासोमा पारिएका आफ्नै पार्टीका प्र.म. शेर बहादुर जीलाई गिरिजा बाबुले प्रतिरक्षा गर्नु भएन । संकटकाल घोषणाको प्र.म. देउवाको निर्णयलाई पार्टी सभापति कोईरालाले के.स.को बैठकमा असफल गराउनु भयो । फलत: देउवाबाट संसद बिघटनको परिणाम   आयो । कुनै समय गिरिजा बाबुले गर्नु भएको संसद बिघटनको सिफारिशलाई अक्षम्य अपराध देख्ने देउवा स्वयंले संसद बिघटनको सिफारिश गरेको प्रतिरक्षा गर्न कत्ति कठिनाई सहनु परेको थियो होला !
    देउवा सरकारका मंत्री रहेका जय प्रकाश गुप्ताले नेपाली सेना राजनीतिमा दख्खल दिदैछ भन्ने वक्तव्य दिएका थिए । एमाले, बिजुक्छे लगायतले संसदमा हंगामा खडा गरे । उनिहरू, गुप्ताले राजिनामा नदिई नहुने अड्डी लिए । सरकारको प्रवक्ताको रूपमा जय प्रकाश गुप्ताले भनेका कुराहरूलाई गिरिजा बाबुले पार्टी नीति विपरित ठान्नु भयो । पार्टीले गुप्तालाई मन्त्री पदबाट राजिनामा दिन भन्यो । देउवा मन्त्रीमंडलले गुप्ताको प्रतिरक्षा गर्यो र आमोद उपाध्याय र महेश आचार्य समेतको मन्त्री मंडलको बैठकले सर्वसम्मतिबाट गुप्ताले राजिनामा दिन नपर्ने ठहर गरी वक्तव्य  निकाल्यो । तर, गिरिजा बाबुले मान्नु भएन । मन्त्री गुप्तालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरियो । यही बिवादमा आमोद उपाध्याय र नहेश आचार्यले मंत्री पदबाट राजिनामा दिनु भयो। यद्यपि, देउवाले जेपी गुप्तालाई मंत्री पदबाट हटाउन मान्नु भएन । कुनै समय संसदमा प्रतिपक्षी एमालेले मंत्री शैलजाको राजिनामा माग्दा आफ्नो पार्टीका सदस्यहरूले पार्टीका मंत्रीको प्रतिरक्षा गर्नुपर्ने अडान लिनु भएका गिरिजा बाबु आफ्नै पार्टीका मंत्री जय प्रकाश गुप्तालाई एमालेको शहमा पार्टीबाटै निकाल्नु भयो । 
    नेपाली कांग्रेस भित्र अत्यधिक शक्तिशाली रहनु भएका प्र.म.गिरिजा बाबुका बिरूद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिने सहास चिरंजीवि वाग्लेले गर्नु भयो । गुटको तर्फबाट यो पहिलो संस्थागत प्रयास थियो, जस्मा गणेश मान जी र किसुन जी को खुला आशिर्वाद थियो । यिनै चिरंजीवि वाग्लेले सृजना गर्नु भएको गुट शेर बहादुर जीको नेतृत्वमा स्थानान्तर भयो र सोही पृष्ठभूमीमा आज देउवा जीको हालीमुहाली अविच्छिन्न छ । पछि यिनै चिरंजीवि जी सबभन्दा पहिला कांग्रेसलाई जनस्तरमा बदनाम पार्ने शाही डिजायनको पात्रमा चुनिनु भयो । राजाले भनेपछि देउवा जी हामी धेरैका सामुन्ने मंत्री पदबाट वाग्ले जीको राजिनामा माग्नु भयो । "वाग्ले जी, आइदर यू सम्मिट रेजिनेशन आर प्रिपियर्ड फोर जेल"  बैठकमा देउवा जीले राजाको ईच्छा, तत्कालिन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको तयारी आदि सम्झाउदै पद त्याग गर्न वाग्ले लगायत हामीलाई गरेको अनुरोध हामी मुर्खहरूले बुझेनौ । अड्डी कस्यौं र पालैपालो भ्रष्टाचारमा फसाईएर जेल गयौ, समाप्त भयौ, मर्यौ ।जबकी देउवा जी शाही भ्रष्टाचार आयोग आदिलाई छिचोल्दै वटबृ़क्ष झै झांगिनु भएको छ । आरजु देउवा गंभीर आरोपमा रहेर पनि निश्चित छिन।  
    प्र.म. शेर बहादुर देउवाले माओवादीसंग शांतिवार्ता थाल्नु भएको थियो । एमाले पनि भित्री रूपमा माओवादीसंग वार्ता थालेको   थियो । यस वार्तामा गिरिजा बाबुले प्र.म. देउवालाई बल दिनु भएन । सहयोग गर्नु भएन ।  हंगकंगबाट सोझै दिल्ली पुगेको गिरिजा बाबुले आफु प्र.म. बनेमा माओवादीसंग शान्ति वार्ता टुंग्याउने भनेर सहमति गर्नु भयो । कांग्रेसको फुटलाई दरिलो बनाउन एमालेले कोईरालालाई साथ दिएर काँग्रेसी चिरालाई फाटोमा रूपान्तरित गरें । शेर बहादुर प्र.म. रहनु भएन । दिल्ली सहमति पछि शांतिवार्ता भै माओवादी सतहमा आयो, राजा र राजतन्त्र सकियो । गिरिजा बाबुले भने आफुलाई इतिहासमा अमर बनाउनु भयो ।
    चिरंजीवि वाग्ले र खुम बहादुर खडकालाई भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले जेल हुलेपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले यस वारे सर्वोच्च अदालतमा पुनरावलोकन गरिने ठहर गर्यो । मधुर र अदालत मैत्री भाषामा पार्टीले सो आशयको एक वक्तव्य निकाल्यो । देउवा जीहरूले यसको कडा प्रतिवाद गर्नु भयो । रडाको मच्चाउनु भयो । कांग्रेस आफ्नो परम्पराको विपरित अदालतको खिलाफमा जाननहुने जिकीर लिनु भयो । फलत: नेपाली कांग्रेसले आफ्नो वक्तव्य फिर्ता लियो । अदालतको सम्मान गरेको भन्यो । आज यस्तै बिवादले काँग्रेसलाई घेरेको छ। देउवाका प्रिय पात्र बालकृष्ण खाँड जेलमा छन्। गगन थापाहरू खाँडलाई काँग्रेसको केन्द्रीय सदस्यबाट निलम्बन गरिनु पर्ने मांग गरिरहेका छन्। देउवा पटक्कै तयार छैनन। केन्द्रीय समितिमा यस बारे भैरहेको बहस दुनियाले हेरिरहेको छ। थाहा छैन, खाँडहरूका बारेमा काँग्रेसले के निर्णय लिन्छ। तर ८/१० बर्ष पहिले नेपाली कांग्रेसले अत्यन्त दु:खमा रहेका आफन्तहरू चिरंजीवि वाग्ले र खुम बहादुर खडकाको घाउँमा मलम लगाउन चाहेन । तर, ती प्रहरी खाँडहरू भाग्यमानी हुन् जसका लागि आज नेपाली कांग्रेस चट्टानी अडान लिएको   छ । 
    भ्रष्टाचारको मुद्दामा २ बर्षसम्म वा यस भन्दा कम कैद सजायँ पाएको व्यक्तिलाई कैद भुक्तान भएको मितिबाट ६ बर्षसम्म निर्वाचनमा भाग लिन बन्देज रहने प्रावधान अनेकन प्रजातांत्रिक मुलुकहरूमा छ । भारतमा, इटालीमा कयौं मुलुकमा छ । तर, नेपालमा यस्ता व्यक्ति आजीवन निर्वाचन लडन नपाउने व्यवस्था भयो । निर्वाचन कानूनको मस्यौदा गरी पठाउँदा निर्वाचन आयोगले त्यस्ता व्यक्तिको हकमा ६ बर्षसम्म बन्देज रहने प्रावधान नै मस्यौदा गरी तालुकवाला मंत्रालय, गृह मंत्रालयमा पठाएको थियो । तेस बेलाका गृहमा मंत्री बिमलेन्द्र निधीले यस प्रावधानलाई बदल्नु भयो र २ वा २ बर्ष भन्दा कम अवधि जेल सजाय भोगेको मानिस समेत निर्वाचनमा भाग लिनबाट आजीवन अयोग्य रहनु पर्ने व्यवस्था भयो । यो गुह्य कुरो सबैले जानेका छन् कि, नेपाली कांग्रेस भित्र खुम बहादुर खडकालाई पंछाउन यसो गरिएको हो । उहांलाई कांग्रेसको उपाध्यक्ष नदिनका लागि यत्रो उपक्रम रचियो । यौटा सानो स्वार्थका लागि काँग्रेसले सर्वकालिक सोच बनाउन सकेन । जबकि उही काँग्रेस सम्मिलित सरकारले जस्तो सुकै अपराध गरेपनि राजनीतिक मुद्दाको नाममा सो मुद्दा फिर्ता लिन सकिने गरी मुलुकी ऐनमा संशोधन प्रस्ताव संसदमा पेश गरेको। शायद, हामी १/२ जना राजनीतिका लागि जीवन भर अयोग्य रहने छौ जबकि आफताव आलमहरू जेलबाट छुटेर राजनीति गर्न पाउँने छन्। 
    केही बर्ष अघि २,५०,००० पनि सकृय सदस्य नरहेको नेका २०५ सीटको संसदमा ११५ सांसद पठाएको थियो। हाल काँग्रेसले ८ लाख सदस्यताको दाबी गर्दा समानुपातिक समेत २७५ को संसदमा नेकाको ८८ जना छ। अझ सन् २४ मा काँग्रेसले १० लाख सकृय सदस्य बनाउने लक्ष्य लिएको छ। यसरी काँग्रेस माथी उक्लिदाँ यस पार्टीको कति सांसद पुग्ने हो संसदमा ? 
    पार्टीमा देउवाको कडा तथा बलियो पकड छ। जबकी यस बारे चर्चा छैन कि-पार्टीको प्रभावकारिता नेताको दरो पकडबाटै हुन्छ र? सोच्दछु, इतिहासमा न चुकेको काँग्रेस, कहिल्यै नझुकेको काँग्रेस आज कहाँ पुग्दैछ ? 
     

    images

    प्रतिक्रिया हरु
    थप समाचार