काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।
नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिइन् । महिला सदस्यको रुपमा ढुंगानालाई १४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवम् राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूनडीपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छिन् ।
९ जेठ २०७९ मा आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । तत्कालीन माओवादी–एमालेसहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर परेर केही नयाँ सदस्य नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन ।
यसअघि आयोगको सदस्यहरुा डा. रामकुमार फुँयाल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्वेवारी पाएकी छिन् ।