काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि क्षेत्रका लागि झण्डै ५९ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।
सरकारले ५ करोड ६० लाख डोज भ्याक्सिन उत्पादन गर्न आवश्यक रकम विनियोजन गरेको छ । नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षती रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।
यस्तै, सरकारले कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ ।
सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्ष २०७९\८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।