आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

राजनीतिमा जेठो पुस्ताको दर्दनाक पतन

राजनीतिमा जेठो पुस्ताको दर्दनाक पतन

राजनीतिको जेठो पुस्ता मूल रुपमा पतन भइसकेको छ । यो पूरै भ्रष्ट भइसकेको छ । यसले जनताको घाँटी निमोठेर आफ्नो जीवन विलासी बनाएको छ । को कांग्रेस, को कम्युनिष्ट, लुट्ने, भ्रष्टाचार गर्ने काममा सबै एकजुट हुने गरेका छन् । पद र पैसाबाहेक अरु थोक केही नदेख्नेहरुलाई जतिसुकै बूढो भए पनि मिल्काएर फाल्नेबाहेक अर्काे विकल्प छैन । दशकौं सत्तामा बसेर लुटेकाहरुप्रति सहानुभूति प्रकट गर्नुपर्ने, टिठ गर्नुपर्ने कुनै कारण छैन ।

साझा पोष्ट
मंगलबार, वैशाख १२ २०८०
  • images
    राजनीतिमा जेठो पुस्ताको दर्दनाक पतन
    images

    नेपालमा सत्ता चलाएका र पार्टी नेतृत्वमा बसेका राजनीतिक दलका नेताप्रतिको वितृष्णाले सीमा नाघेको छ । राजनीतिको जेठो पुस्ता सैद्धान्तिक, राजनीतिक र व्यवहारिक रुपमा पतन भइसकेपछि यस्तो हुनु स्वभाविकै थियो । नेपाली राजनीतिमा घिटीघिटी रहेको पहिलो पुस्तालाई जबर्जस्ती उखेलेर नफालेसम्म विद्रोहको आँधी रोक्नु हुँदैन भन्ने विषयमा जनता सचेत देखिएका छन् । चितवन र तनहुँमा २०८० बैशाख १० गते भएको उपनिर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल पत्तासाफ भएपछि ठूला दलका शीर्ष नेता तर्सिएका छन् । उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको जुन रुपमा प्रभाव विस्तार भएको छ, यो आफैमा विचित्रको घटनाका रुपमा देखा परेको छ । आफ्नै नेता, कार्यकर्ता र बहुमत जनताले एकलौटी रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत हाल्नुको कारण हालसम्मका सत्ताधारी र दुई वर्ष अगाडि निर्माण भएको महागठबन्धन हुन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । 

    images


    निसन्देह, वि.सं. २०५० को दशक सुरु हुँदा अहिलेको जेठो राजनीतिक पुस्ता आदर्शवान थियो । राजनीतिक परिवर्तनका लागि युवा उमेर खर्च गरेको पनि हो । धेरै मान्छेलाई लागीरहेको छ कि नेताहरुले जिन्दगीभर देशको सेवा गरेका छन् । तर वास्तविकता त्यसो होइन, राजा ज्ञानेन्द्रले २०५९ मा सत्ता खोसेको समयमा बाहेक निरन्तर, आलोपालो सत्तामा बसेर राष्ट्रको ढुकुटी लुटिरहेका छन् र जनताको भविष्य बर्बाद बनाइरहेका छन् । त्यसैले तिनीहरु बदनाम भएका छन् । 

    images
    images


    शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा जन्मिएको व्यक्ति स्नातकोत्तर पढेर, जागिर खाएर, विहेवारी गरेर आफ्नो बच्चा विद्यालय पठाइसकेको छ । तर तिनै शेरबहादुर देउवा सातौंपटक प्रधानमन्त्रीका लागि पालो ढुकेर बसेका छन् । वि.सं. २०४८ देखि मन्त्री हुन थालेका कांग्रेस, एमाले, माओवादीका नेताहरु अहिलेसम्म पनि मन्त्री भइरहेका छन् । 


    सत्तामा पुगेसँगै आफूले बोकेका दर्शन, सिद्धान्त, नीति, विचार, कार्यक्रमहरु सबैलाई तिलाञ्जली दिएर सम्पूर्ण ध्यान पद, पैसा, लुट, सुविधाको लागि खर्च गरेपछि जनतामा नेताहरुप्रति वितृष्णा जाग्नु स्वभाविकै थियो । नेताको भेषमा जनतामाथि लुट मच्याउनेहरुका विरुद्धमा कार्यकर्ता पनि विस्तारै जाग्न थालेका छन् । आफ्ना नेताहरुका विरुद्धमा सार्वजनिक रुपमा बोल्न थालेका छन् । 


    राजनीतिको जेठो पुस्ता मूल रुपमा पतन भइसकेको छ । यो पूरै भ्रष्ट भइसकेको छ । यसले जनताको घाँटी निमोठेर आफ्नो जीवन विलासी बनाएको छ । को कांग्रेस, को कम्युनिष्ट, लुट्ने, भ्रष्टाचार गर्ने काममा सबै एकजुट हुने गरेका छन् । पद र पैसाबाहेक अरु थोक केही नदेख्नेहरुलाई जतिसुकै बूढो भए पनि मिल्काएर फाल्नेबाहेक अर्काे विकल्प छैन । दशकौं सत्तामा बसेर लुटेकाहरुप्रति सहानुभूति प्रकट गर्नुपर्ने, टिठ गर्नुपर्ने कुनै कारण छैन । जेष्ठ नागरिकको हिसावले तिनीहरु सम्मानित व्यक्ति हुन् । कोही कसैका हजुरबुबा हुन्, बुबा हुन्, इष्टमित्र, अभिभावक आदि हुन् । तर देशको लागि तिनीहरु पूरै असक्षम र नालायक भइसकेका व्यक्ति हुन् । तिनीहरुलाई सरकार, पार्टी आदि ठाउँबाट मिल्काएर बृद्ध अवस्थाको सहज जीवनमा फर्काउनुपर्दछ । 


    राजनीतिको लागि दुनियाँभर उमेर खोज्ने गरिंदैन । राजनीतिक, सामाजिक, साहित्यिक, कला आदि क्षेत्रमा योगदान गर्नका लागि उमेर खोजिनु हुँदैन । स्वतः स्फूर्त गर्ने सेवा भएको हुनाले उमेर गौण कुरा हो । तर राजनीतिलाई भ्रष्टाचार र लुटको धन्दा बनाएपछि तिनीहरुलाई मिल्काउनुबाहेक अर्काे कुनै विकल्प छैन । सामान्य प्रकारले होइन, कि निर्मम प्रकारले मिल्काउनु पर्दछ । 


    राजनीतिको जेठो पुस्ता यति खत्तम तरिकाले पतन भयो कि उसले नेपालमा शासन गरिरहेको छ, आफ्ना छोराछोरीहरुलाई युरोप, अमेरिका लगेर व्यवस्थापन गरेको छ । राजनीति गर्ने नेताहरुकै सिको गरेर उच्चस्तरीय कर्मचारीहरुले पनि नेपालमा भ्रष्टाचार गर्ने, लुट्ने, परिवार र पैसा लगेर विदेशमा व्यवस्थापन गर्ने धन्दा सिकिरहेको छ । युवाहरुलाई खाडी, मलेसिया, कोरिया पठाएर आफ्ना छोराछोरी, आफन्तलाई युरोप अमेरिका पठाउने धन्दा गर्ने बहुसंख्यक राजनीतिक नेताहरुले गरिरहेका छन् । नेता र कर्मचारीहरु मिलेर देशलाई किन यस्तो जर्जर अवस्थामा पु¥याइयो भनेर समीक्षा गर्ने कुने पनि नेता यो देशमा जन्मिएको देखिंदैन । धेरैको एक मात्रै ध्याउन्न छ, पदमा पुग्ने, पदमा टिक्ने, पैसा कमाउने र विलाशी जीवन विताउने । 


    राजाहरुले जनतालाई रैती बनाए, गरिब बनाए भन्ने भाष्य निर्माण भएको थियो र धेरै हदसम्म त्यो सही थियो । राजतन्त्र भ्रष्ट हुँदै गएपछि देशमा गणतन्त्रको माग हुन थाल्यो र जनआन्दोलनबाट गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापनापछि दलका नेताहरुले जनतालाई रैती बनाउन थाले, गरिबीमा धकेले र आफू नमरुन्जेलसम्म सत्तामा बस्ने र विलाशी जीवन विताउने जाल बुन्न थाले । राजाहरु बाचुँन्जेल सत्तामा बस्ने गर्दथे, यिनीहरु पनि बाचुँन्जेल सत्तामा बस्नको लागि महागठबन्धन गरेर चुनाव लडे । पालैपालो प्रधानमन्त्री, मन्त्री खाने, महत्वपूर्ण संवैधानिक पदहरुमा बाँडीचुँडी गरेर खाने सहमति गरे । शासनको प्रकृति लुटतन्त्रमा आधारित दलीय राजतन्त्रको रुपमा बदलियो । हरेक पार्टीभित्र श्रीपेच नलगाएका राजाहरुको हालीमुहाली बढेर गयो । सत्ताका पद र विलाशी जीवन विना बाँच्नै नसक्ने भए । यसरी सत्ता र पार्टीको पद विना बाँच्नै नसक्ने नेताहरुलाई पञ्चायतकालका पञ्चहरुलाई झैं रातारात फालेर पदविहीन बनाउने दिन आइसकेको छ । 


    राजनीतिक आन्दोलनमा लामो योगदान गरेका, भ्रष्टाचार नगरेका, पदलोलुप नदेखिएका, जिन्दगीभर पदमा नबसेर सामान्य जीवनयापन गरेका व्यक्तिहरुप्रति जनताले उत्तिकै सम्मान व्यक्त गर्ने नेताहरु पनि छन् । तर ती नगण्य रुपमा रहेका छन् । तिनीहरुले पनि अहिलेका भ्रष्टहरुमाथि धाबा बोल्नुपर्ने समय आइसकेको छ । लौरो टेकेरै किन नहोस्, तिनीहरु सडकमा आउनुपर्दछ । आफ्ना सहयात्रीहरु, जो लुट, भ्रष्टाचार, पदललोलुप छन्, तिनीहरुका विरुद्धमा आवाज बुलन्द गर्नुपर्ने समय आएको छ । 


    राजनीतिक दलका नेताहरु छोटेराजाहरु मात्रै होइनन् कि पार्टीभित्रका पञ्चहरु हुन् । तिनीहरुले आफ्नो पार्टीभित्र निर्दलीय व्यवस्था सञ्चालन गरेका छन् । फरक मत, फरक विचार राख्ने नेताकार्यकर्ताको कत्लेआम गरेका छन् । राजनीतिक अपराध गरेका छन् । कतिपय मान्छेहरुलाई अझै पनि लाग्ने गर्दछ कि दलका नेताहरु सच्चिनुपर्दछ । राजनीतिक दलको जेठो पुस्ता कुनै पनि हालतमा सच्चिन सक्दैन । जसरी मक्किएको, कुहिएको काठलाई घाममा तताएर नयाँ बनाउन सकिंदैन, त्यसरी नै भ्रष्ट, पदलोलुप र वैचारिक, राजनीतिक रुपमा पतन भइसकेको जेठो पुस्तालाई सच्याउन सकिंदैन । तिनीहरुको पैसामोहको आनीबानी, पदलोलुपता, भ्रष्ट चारित्र र उमेर बाधाको रुपमा रहेको छ । राजनीतिमा विद्यमान जेठो पुस्तालाई एक, एक गरेर मिल्काउने, दोस्रो, तेस्रो, चौथो पुस्ता राजनीतिक, सैद्धान्तिक, सांगठनिक रुपमा पार्टी र देशलाई जुरुक्कै बोक्नको लागि तयार भएर आउनुपर्दछ । जेठो पुस्तालाई सम्मानपूर्वक जेष्ठ नागरिकको रुपमा, राजनीतिक आन्दोलनमा विगतमा गरेको योगदानको पुँजीको रुपमा राख्नु स्वयं जेठो पुस्ता, देश र जनताको पनि हितमा हुनेछ । 


     

    प्रतिक्रिया हरु
    थप समाचार