काठमाडौं । २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ।
लामो समयदेखि क्यासिनो चलाउँदै आएका सुरेन्द्रबहादुर सिंहलाई प्रमुख प्रतिवादी बनाएर विभागले चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सिंहले झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालन गरिरहेका छन् । क्यासिनोमार्फत विदेशी मुद्राको अवैध कारोबार, जुवासम्बन्धी लगायतका कसुरसमेतबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतको तहतहमा रूपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्नेसमेतको निषेधित कार्य गरेको विभागको ठहर छ।
त्यसबाट प्रत्यक्ष रूपमा त्यस्तो सम्पत्तिको पुनः प्राप्त भोगचलन, उपयोग, उपभोग र धारणसमेतका कार्य गरेको विभागले जनाएको छ।
पत्नी जयन्ती थापा मगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने, कारोबारमा जटिलता सिर्जना गर्नेलगायतका कार्य गरी कसुर गरेको विभागको दाबी छ।
सिंहले क्यासिनो पछि जयन्ती थापालाई बेचेका थिए।
क्यासिनो किनेर सम्पत्ति शुद्धीकरणमा सघाएको आरोपमा विभागले खरिदकर्ता उनकी श्रीमती थापालाई पनि प्रतिवादी बनाएको छ। विभागले प्रमुख प्रतिवादी कायम गरेको सिंहविरुद्ध यसअघि कहिले जुवा, कहिले विदेशी मुद्रा अपचलनलगायतका विभिन्न मुद्दा अदालतमा दायर भएका छन्।