काठमाडौं । आजदेखि सिंहदरबार परिसरमा सिलिण्डर ग्यासलाई प्रतिष्थापन गरिएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डरको प्रयोग गर्न रोक लगाइएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमै साउन महिनादेखि ग्यास सिलिण्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्ने घोषणा गरेका थिए ।
तर पूर्ण रुपमा कार्यान्यन नभएपछि अर्थमन्त्री शर्माले सिंहदरवारका क्यान्टिनको अनुगमन गरी आजदेखि ग्यास सिलिण्डर प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउन निर्देशन दिए ।
सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुने छ ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९ ८० को बजेटको बुँदा नं २५३ प्रभावकारी कार्यान्वयन गर्न र साउन महिनाभित्रै ग्यास सिलिन्डर विस्थापित गरीसक्न निर्देशन दिएको थियो ।
आगामी असोगदेखि भने महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई विद्युतीय चुलो प्रयोगलाई देशब्यापी बनाउने सरकारको घोषणा छ ।