काठमाण्डौ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको छ । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुनेछ ।प्रसारण लाइन सट डाउन भएपछि विद्युतगृहबाट उत्पादन बन्द हुने छ ।
गत वर्ष असार १९ को पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्न लाइन बन्द गरिएको छ।
पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) जडान गरी गत वर्षको २ साउनदेखि प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।
अहिले ती स्थानमा नयाँ टावर बनाइएको छ । आइतबार नयाँ टावरमा तार टाँगिने छ । यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ ।
करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ ।