काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठाउँदै टिक्ने नटिक्ने टुंगो नभएको बताएका छन् ।
सोमवार ललितपुरको च्यासलमा नेकपाका संस्थापक रबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म जानेमा शंका व्यक्त गरेका हुन्।
‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’ उनले भने । गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेता नेपालले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बताए ।
आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको र राजनीति जटिल रहेको बताए । ‘सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौंँ ।’ नेपालले भने,कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौं । कसैको दास बन्ने होईन ।’