मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

आँखा उपचारमा ऐतिहासिक फड्को: २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

आँखा उपचारमा ऐतिहासिक फड्को: २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

साझा पोष्ट
शुक्रबार, माघ १२ २०८०
  • images
    आँखा उपचारमा ऐतिहासिक  फड्को:  २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल
    images

    काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । उक्त अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । 
     नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ । विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहिआएको जनाइएको छ ।  

    images
    images

    आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा ऐतिहासिक सफलता पाएको हो । काठमाडौं उपत्यकाभित्रकै एक अस्पतालबाट ‘रेफर’ भई आएको ती  शिशुको आँखाको गत पुस १० मा शल्यक्रिया गरिएको थियो । सो जटिल शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईंले भनिन्, “२९ हप्तामा जन्मेको शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलोपटक हो । बुधबार फलोअप उपचारका लागि शिशुलाई  अस्पतालमा ल्याइएको थियो । मैले शिशुको दुवै आँखा परीक्षण गरेँ, आँखामा सुधार हुँदै गएको छ । समस्या न्यून हुँदै जाने देखिन्छ । तर फलोअप उपचार भने गरिरहनुपर्छ ।”

    images
    images

    उनकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो । चिकित्सक बजगाईंले भनिन्, “शिशुको दायाँ आँखाको लेजर प्रविधिबाट उपचार सफल भएपछि यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो, जुन सफल पनि भयो ।” 

    रेटिना विशेषज्ञ बजगाईंलाई शिशुको एलएसभी शल्यक्रिया गर्न करिब एक घण्टाभन्दा बढी समय लागेको थियो । उनले भनिन्, “यस्तो शल्यक्रिया सफल हुन अथवा असफल हुन पनि सक्छ । तर मैले ती शिशुको आँखाको ज्योती जोगाउन अन्तिम पर्यत्न गरेँ जुन सफल भयो । यो मेरो जीवनका लागि पनि खुसीको क्षण हो ।” शिशुको जन्म हुँदा उनको तौल एक हजार दुई सय ग्राम मात्र रहेको बताइएको छ । 

    जन्मिएपछि २८ दिनसम्म शिशुको एनआईसीयूमा उपचार भएको थियो । जन्मेको ३४ दिनपछि आईसीयूमा रहेकै अवस्थामा शिशुको आँखा उपचार गर्न आँखा अस्पताल ल्याइएको थियो । आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणका हुने गर्छ । पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धिविकाससँगै नसाको पनि वृद्धिविकास हुँदै जान्छ । तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ ।  
    चिकित्सक बजगाईंले भनिन्, “कम तौल, गर्भावस्था ३४ हप्ताभन्दा कम, जन्मँदा अक्सिजनको उतारचढावका कारण अक्सिजन थेरापी दिइएको, शारीरिक, जन्डिस, पेटको समस्याले ती शिशुको दुवै आँखामा समस्या देखिएको रहेछ । गर्भावस्था ३४ हप्ता कम अथवा दुई किलोभन्दा कम वजन जन्मेका शिशुमा आरओपीका कारण अन्धोपन हुने जोखिम हुन्छ ।” रासस

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार