बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

आधा जनसंख्यालाई समृद्धिको यात्राबाट बहिष्करण गर्नु अनाचार र अनैतिक

आधा जनसंख्यालाई समृद्धिको यात्राबाट बहिष्करण गर्नु अनाचार र अनैतिक

'न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्वका लागि सङ्घर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको छ। '

शुक्रबार, माघ ५ २०८०
  • images
    आधा जनसंख्यालाई समृद्धिको यात्राबाट बहिष्करण गर्नु अनाचार र अनैतिक
    images

    ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ भन्ने महत्त्वपूर्ण नाराका साथ अफ्रिाकाको मोती, सुन्दर देश युगान्डामा आयोजना हुन लागेका असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न पाउँदा सम्मानित महसुस गरेको छु।


    images
    images

    साझा समृद्धिका लागि शान्ति अतिआवश्यक भएको समयमा यो सम्मेलन सफलताका लागि मैले गौतम बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश लिएर आएको छु।

    असंलग्नहरूको ऐतिहासिक आन्दोलनको नेतृत्व गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएकोमा अध्यक्ष महोदयलाई सर्वप्रथम म हार्दिक बधाई ज्ञापन गर्दछु। म विश्वस्त छु, तपाईँको गतिशील नेतृत्त्वमा यसले थप ताकत, ऐक्यबद्धता र सहकार्यको उचाइ लिनेछ।

    हामी कम्पालाको यो सुन्दर सहरमा आएदेखि नै यहाँहरूले प्रदान गर्नुभएको न्यानाे स्वागत र विशेष अतिथ्यका लागि म सरकार र गणतन्त्र युगान्डाका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।

    अरु नेताहरूले जस्तै कोभिड–१९ महामारीले चुनौतीका बाबजुद पनि १८ औँ ‘नाम’ शिखर सम्मेलपछि विगत पाँच वर्षदेखि निवर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानले गरेको प्रशंसनीय कार्यको म उच्च कदर गर्दछु।

    सन् १९५५ अफ्रो–एसियाली सम्मेलनबाट ‘नाम’को बिजारोपण भएदेखि यसले लामो यात्रा तय गरेको छ।यस आन्दोलनले विश्वका धेरै देशहरूको राजनीतिक स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यो खालको गरिमा, गर्व, ऐक्यबद्धता र सहयोगका लागि आशापूर्ण अवस्था हो।

    यद्यपि आन्दोलनले न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्वका लागि सङ्घर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको छ। यससँगै संरक्षणवाद, हिंसात्मक अतिवाद र युद्ध र द्वन्द्वले भरिएको छ। त्यसैगरी सैन्य खर्च र हतियारको दौड बढिरहेको छ।

    पछिल्लो शिखर सम्मेलनदेखि नै कोभिड–१९ महामारीका कारण लाखौं मानिसको मृत्यु, विपन्नता र विस्थापनलगायतका ठूला मानवीय चुनौतीहरू आइपरेका छन्।सत्य के हो भने महामारीपछिको पुनर्उत्थान सुस्त र असमान रहेको छ। यसले समाजका गरिब र समाजका सबैभन्दा कमजोर वर्गहरूलाई प्रहार गरेको छ। यसले अरु बहुआयामिक सङ्कट निम्त्याएको छ।

    त्यस्तै, हाम्रा जनताको आशा, मर्यादा र सभ्य जीवनको युगमा प्रवेश गर्न महत्त्वपूर्ण मानिएको दिगो विकासका लक्ष्यहरू (एसडीजी) हासिल गर्न असम्भव देखिएको छ।

    त्यसैगरी, विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो विकासका दृष्टिकोण र लक्ष्यहरू प्राप्तिका लागि वित्तीय सुरक्षा गर्नका लागि विश्वको वित्तीय संरचना सुधार गर्नुपर्दछ। यी देशहरूलाई विकास न्याय प्रदान गर्न, विकसित देशहरूले ढिलाइ नगरी वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्छ।

    अन्तर्राष्ट्रिय व्यापार न्यायोचित, निष्पक्ष र समावेशी हुनुपर्छ, जसले तल्लोहतका अर्बौं जनतालाई फाइदा पुग्छ।

    विश्वव्यापीकरण हामीले जुन रूपमा विश्वास गरेका र्छौँ, त्यही अनुरूपमा समान तवरले उठेको छैन। बरु यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशहरूको हातमा सम्पत्ति केन्द्रित गरेको छ।

    यो अनाचार र अनैतिक मात्र होइन, आधा मानवलाई समृद्धिको यात्राबाट बहिष्करणमा पार्ने कार्य हो भन्ने विषय उत्तरी विश्वले बुझ्नुपर्छ। नामले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्छ।

    धेरै सहयात्री ‘नाम’ का सदस्य मुलुकहरूले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेकाले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्छ।

    त्यसैगरी वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ मा विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई  सम्बोधन गर्न ‘नाम’ ले उच्च प्राथमिकता दिनुपर्छ।‘नाम’ ले संयुक्त राष्ट्रसङ्घको पुनःसंरचनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।

    हाम्रा बहुपक्षीय संस्थाहरू समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ, जसले दिगो शान्ति र साझा समृद्धि सुनिश्चित गर्न सहयोग गर्छ। हामीले झेल्नुपरेका साझा र समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्न ‘नाम’ले नेतृत्व लिनुपर्छ।

    ‘सहयोग’ बाट नै सबैभन्दा उच्च कोटीको मानवता प्राप्त गर्न सकिन्छ भन्ने राम्रो पाठ मानव सभ्यताको इतिहासले सिकाएको छ। ‘नाम’ आफैंमा सहयोगलाई प्रगाढ बनाउने थलो हो। सहयोगको माध्यमबाट हामीले विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ।

    समृद्धि थोरैका लागि सुअवसर हुन सक्दैन। सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्छ। हामीले यस्तो स्तरको खेल मैदान सिर्जना गर्नुपर्छ जहाँ सबै देशहरूले समृद्धिलाई सकेसम्म समानरूपमा बाँडफाँट गर्न सकून्।

    नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ। त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो।

    संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाको रूपमा आन्दोलनले सुरक्षा, स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण, समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्छ।

    ‘नाम’ का निरन्तरको मूल्यमान्यता र सिद्धान्तहरु हाम्रा लागि पवित्र छन्। यसको पालनाले हामीलाई शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको छ।

    नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको छ। हाम्रो परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो।

    नेपाल शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्दछ। विविधतामा एकता र वसुधैव कुटुम्बकम अर्थात् ‘विश्व एउटै परिवार’ हाम्रो जीवन पद्धति बनेको छ। यी मूल्यमान्यताहरू हाम्रा सामाजिक–सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन्।

    नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्दछ। युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ।मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहन्छ।

    नेपाल आफ्नो अनुपम, राष्ट्रिय स्वामित्वको र नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको निष्कर्षमा पुगेको छ। हामी सङ्क्रमणकालीन न्यायलाई एकपटक र सदाका लागि समाधान गरेर दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँ। द्वन्द्वबाट स्थापित नेताका रुपमा सम्बोधन गर्दै गर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ, दृढ विश्वास र इच्छा शक्तिले राष्ट्र र विश्वव्यापी रूपमा रहेका ऐतिहासिक, सामाजिक–सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ।

    स्तरोन्नति हुँदै गरेको अल्पविकसित देश, नेपालले आफ्नो विकास प्रयासहरूमा धेरै चुनौतीहरूका सामना गरिरहेको छ। अल्पविकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा म अल्पविकसित राष्ट्रहरूलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन सहयोगको भावना र यस भावनामा सहयोग गर्न अन्तर्राष्तिट्रय समुदायलाई सहयोगको स्तर बढाउन आह्वान गर्दछु।

    हिमालयको देशबाट आएको हुनाले मैले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, पहाडहरू विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो। यसले सबै जीवित प्राणीहरूलाई विश्वव्यापी सेवाहरू प्रदान गर्दछ। तर उनीहरूले ठूलो पीडा भोगिरहेका छन्।

    हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको छ।हामीले जलवायु परिवर्तनको विनाशकारी प्रभावको कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरुप र यसले अरबौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको देखेका छौँ।

    हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हाम्रो साझा हितमा छ। यसका लागि म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वान–हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु।

    अन्त्यमा, अध्यक्ष महोदय,

    असंलग्नताको मूल्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गरौँ र हामी कुनै पनि दोहोरो मापदण्डबाट जोगिऔँ।हाम्रो साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गरौँ।

    कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’ लाई बलियो बनाऔँ।

    अन्त्यमा, मन्त्रिस्तरीय बैठकले प्रस्तुत गरेका ‘अन्तिम दस्तावेज’ र ‘कम्पाला घोषणापत्र’ को फलदायी छलफल र अबलम्बन गरेकामा म प्रशंसा गर्दछु।

    (‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको मन्तव्य)

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार