काठमाडौं । नेकपा एकीकृत समाजवादीले इलाम र बझाङको उपचुनावमा कति भोट पायो त अहिलेसम्म धेरैको चासो यसमा पनि छ, किनकी यी दुवै ठाउँमा एकीकृत समाजवादीले एमालेलाई सघाउन अस्वीकार गरेर बाक्सा थापेको छ ।
इलाम २ मा माओवादीले मात्रै होईन, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि एमालेलाई सघाएको थियो, बारम्बारको आग्रहमा पनि एकीकृत समाजवादीले एमालेलाई समर्थन गर्न मानेन, बरु जित्छौं भन्दै उम्मेदवार उठायो ।
तर अहिलेसम्म गणना भएको मत अनुसार समाजवादीको यहाँ बिजोग अवस्था देखिएको छ ।अहिलेसम्म फाकफोकथुम गाउँपालिका बडा नम्वर १,२,३,४,५ र ६ को गणना सम्पन्न हुँदा एकीकृत समाजवादीका जीतबहादुर राईले जम्मा १२ मत पाएका छन् । यहाँ एमालेका सुहाङ नेम्वाङले ३७८३ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले २७८२ मतसहित पछ्याइरहेका छन्।
बझाङ–१ ‘क’मा ११ उमेदवार मध्ये एकीकृत समाजवादीका दिलबहादुर सिंह चौथो स्थानमा छन् । उनले ९०३ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ६ हजार २२९ सदरमध्ये एमालेका दमन भण्डारीले दुई हजार २२९ मत पाएका छन् ।यस्तै, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले एक हजार ५०४ र नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ४८२ मत पाएका छन् ।